झापा । पूर्वपश्चिम राजमार्गको रतुवा पुलमा ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलका सुशिल राई रहेका छन् ।

 

गएराति ९ः३० बजे कमल गाउँपालिका ५ रतुवा पुलस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको मे १ ख ३३१८ नम्बरको ट्रक स्टार्ट बन्द भई बिग्रिएर बसेको अवस्थामा सोही दिशातर्फ आउँदै गरेको मे ९ प ८९०४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो ।

 

दुर्घटनामा मोटरसाइकल चालक कमल ५ का ३० वर्षीय राई गम्भीर घाइते भएका थिए । उनलाई निम्स अस्पताल दमकमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको र लैजाने क्रममा दमक ६ स्थित गणतन्त्र चोकमा आफन्तले मृत्यु भइसकेको शंका लागेर पुनः निम्स अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

मृतकको शव दमक अस्पताल दमकमा राखिएको छ भने ट्रक घटनास्थलमै रहेको छ । तत्काल फरार रहेका ट्रक चालक अर्जुनधारा ७ का ५३ वर्षीय रघुनाथ सिटौला इलाका प्रहरी कार्यालय दमकको सम्पर्कमा आई नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।