दमक । झापाको दमकमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा चारजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक र गौरादहका युवा छन् ।
गएराति ८ बजे दमक ५ सृष्टि टोलस्थित देवु गड्तौलाको टाँडे घरको भूइँ तलाको कोठामा डेरा गरी बस्ने गौरादह ४ धोबिने बस्ने २४ वर्षीय अनुभव दर्नालको कोठामा लागूऔषध खरिद बिक्री गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा गौरादह ४ धोबिने बस्ने २४ वर्षीय अनुभव दर्नाल, दमक १ संगम चोक बस्ने २६ वर्षीय सुरज कुमाल, दमक ६ पुरानो बजार बस्ने २९ वर्षीय सुमन दर्जी र दमक ७ पुरानो सब्जी लाइन बस्ने ३४ वर्षीय वीरबहादुर पौडेल रहेका छन् ।
उनीहरुको साथबाट ब्राउन सुगरसहित विभिन्न प्रकारका प्रतिबन्धित लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।