फिक्कल । इलाममा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । आज अपराह्न ४ः१० बजे इलाम रोङ गाउँपालिका ३ पाथले डाँडास्थित मेची राजमार्गमा दुर्घटना भएको थियो ।

 

झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा. ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

दुर्घटनामा मोटरसाइकल चालक बझाङ बित्थडचिर गाउँपालिका १ बस्ने २६ वर्षीय मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाडा नगरपालिका ८ बस्ने २३ वर्षीया सिर्जना गिरीको मृत्यु भएको हो ।

 

घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पतालका डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुवैको शव सोही अस्पतालमा रहेको छ ।

 

दुर्घटनापछि ट्रक र ट्रक चालक पाँचथर कुम्मायक गाउँपालिका ९ बस्ने ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिई प्रहरी चौकी फिक्कलमा राखिएको छ