फिदिम । मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको छ । सोमबार साँझदेखि निरन्तर भइरहेको वर्षाका कारण हेंवा खोलामा आएको बाढीले अस्थायी डाभइर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।
बाढीले डाइभर्सन बगाएपछि मङ्गलबार बिहानैदेखि मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको छ । खोलामा पानीको सतहले डाइभर्सन पार गरेसँगै यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
हेंवा खोला भएर इलाम र पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङदेखि पाँचथर हुँदै इलाम र झापातर्फ जाँदै गरेको सवारीसाधन बाटैमा रोकिएका छन् । हेंवा खोलामा आएको बाढी डाइभर्सनमाथि ओभर फ्लो भई बगेको छ ।
हेंवा खोलाले फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ स्थित मेची राजमार्गलाई जोडेको छ । बाटो अवरुद्ध भएपछि धेरै सवारी साधन अलपत्र परेको प्रहरीले जनाएको छ ।