इलाम । सूर्योदय नगरपालिकाले तोकेबमोजिम चिया किसानको हरियोपत्ती खरिद गर्न नसक्ने भन्दै यहाँका चिया उद्योगीहरुले चिया कारखाना बन्द गर्ने निर्णय गरेका छन् ।
सूर्योदय नगरपालिकाले कार्यविधि २०७५ बनाएरै लागु गरेपछि यस नगरमा आवद्ध चिया उद्यमीहरुको संगठन सूर्योदय टी प्रोड्युसर्स एशोसिएसनले आज आइतबार कारखाना बन्द गर्ने निर्णय गरेको हो । एशोसिएसनमा ६२ वटा कारखानाका सञ्चालक सदस्य छन् ।
नगरपालिकाले न्यूनतम दर प्रतिकेजी ४० रुपैयाँ कायम गर्दै कार्यविधि नै लागु गरेको छ । तर, उद्योगीहरुले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले पनि नगरपालिकाले तोकेको दररेट किसानलाई दिन नसक्ने भन्दै बरु कारखाना बन्द गर्न सहमत भएको एशोसिएसनका कार्यवाहक अध्यक्ष डिल्लीराम श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
नगरपालिकामा पठाइएको पत्रमा एशोसिएसनले असार १२ गतेदेखि कारखाना बन्द गर्ने उल्लेख गरिएको छ । उद्योगीले यसअघि हरियो चियापत्तीको गुणस्तरका आधारमा मूल्य दिँदै आएका थिए । तर, यस पटकदेखि उद्योगीसँग कुनै छलफल नगरी नै नगरपालिकाले एकलौटी ढंगले दररेट तोकेको भन्दै विरोधस्वरुप उद्योग बन्द गर्नु परेको पनि कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए ।
उनका अनुसार चिया किसानले उद्योगीलाई दुई पात एक सुइरो हरियो चियापत्ती उपलब्ध गराउनुपर्नेमा त्यसो नभइरहेको अवस्थामा नगरपालिकाले अनुगमन गर्नुको सट्टा उल्टै नियममात्र लागु गर्न उद्दत रहेको उद्योगीहरुको आरोप छ ।
चिया उद्योगीहरुको पीर मर्कालाई कहिल्यै नबुझेको राज्यले सेवा सुविधा दिनुपर्नेमा उल्टै दररेट तोकिँदा उद्योगी धराशायी बन्न पुगेको उल्लेख गर्दै नगरपालिकाले पनि सम्बोधन गर्नुपर्ने माग गरेका छन् । चियाको गुणस्तरलाई मध्यनजर गरेको खण्डमा उनीहरुले नगरपालिकाले तोकेअनुसारको दररेट चिया किसानलाई दिन तयार रहेको पनि बताएका छन् ।
नगरपालिकाले गुणस्तर चिया उत्पादनमा पहल नगर्ने हो भने कम गुणस्तरअनुसारकै रकम उद्योगीले तिर्ने चिया उद्योगीले बताउँदै आएका छन् । उनीहरुले चियापत्तीको गुणस्तरको अनुगमन गर्न पनि नगरपालिकासमक्ष माग गरेका छन् ।
सूर्योदय नगरपालिकाबाट उत्पादन हुने अर्थोडक्स चियाको गुणस्तर खस्कँदै गएकाले पनि बाध्य भएर उद्योगीहरुले कारखाना बन्द गर्नु परेको पनि बताएका छन् ।
अहिले भनेजस्तो स्तरीय हरियो चियापत्ती किसानले उत्पादन दिन नसकिरहेको अवस्थामा नगरपालिकाले दररेट तोक्नु बल मिचाहा प्रवृत्ति भएको उद्योगीहरुको आरोप छ ।