झापा । ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापामा नुवाकोटका चारजना युवा पक्राउ परेका छन् । निजी गाडीमा भारतबाट लागूऔषध ओसारपसार गर्ने क्रममा कारोबारीहरु फेरि पक्राउ परेका हुन् ।
आज (बुधबार) दिउँसो २ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी निरीक्षक लोककृष्ण दाहालको कमाण्डमा रहेको टोलीले भद्रपर ७ स्थित आनी मार्गमा बागमती प्रदेश ०१-०२५-०८७७ नम्बरको क्रेटा कारलाई रोकेर चेकजाँच गरेको थियो ।
प्रहरीले चेकजाँज गर्दा २०० ग्राम ३९० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरियो ।
पक्राउ पर्नेहरुमा नुवाकोट बेलकोटगढी नगरपालिका १३ बस्ने ३१ वर्षीय साजन तामाङ र ३३ वर्षीय दिपेश लामा तथा बेलकोटगढी १ बस्ने २० वर्षीय सजिन लामा र २३ वर्षीय राम तामाङ रहेका छन् ।
लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूरको अनुसन्धानको लागि आजै जिल्ला अदालत झापामा उपस्थित गराइ सात दिनको म्याद थप भई जिल्ला प्रहरी कार्यालय झापाबाट अनुसन्धान तथा कारवाही भइरहेको प्रहरी उपरीक्षक लिम्बूले बताए ।
यसअघि असार ७ गते ४७ ग्राम ६९० मिलिग्राम लागूऔषध ब्राउनसुगर ल्याउँंदै गरेको अवस्थामा काठमाण्डौ २६ बस्ने निवेश कुँवर र लमजुङ कोलासोतार ७ बस्ने नोजिना राना पक्राउ परेका थिए ।
त्यस्तै गत वैशाख ३१ गते गौरीगंज गाउँपालिका ३ बाट लागूऔषध कारोबारमा संलग्न दमकका भुपेन्द्र राई, भारत बस्ने भोला ठाकुर र मोनाजिर आलमलाई १०० ग्राम ०९० मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।