शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ८ नम्बर वडा कार्यालयले गोलाप्रथाबाट ५० घरपरिवारलाई बिहीबार विद्युतीय चुल्हो वितरण गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को बजेटबाट ५० थान विद्युतीय चुल्हो वितरण गरिएको वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले जानकारी दिए । वडाबासीबाट निवेदन माग गर्दा श्रोतभन्दा बढी निवेदन परेकाले गोलप्रथा गरी वडाबासीलाई चुल्हो वितरण गरिएको उनले बताए ।
विद्यतुीय चुल्हो वितरणका लागि यसवर्ष २ लाख ५० हजार बजेट विनियोजन भएको थियो । जसमा ५० जना वडाबासीलाई चुल्हो वितरण गर्ने वडाको योजना भए पनि ३८४ घरपरिवारको निवेदन परेको उनले बताए ।
सीमित श्रोत भएकाले निवेदन दिने वडाबासी र जनप्रतिनिधिको रोहवरमा गोलप्रथाद्वारा विद्युतीय चुल्हो वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले गतवर्ष ४० घरपरिवारलाई चुल्हो वितरण गरेको थियो ।
यस कार्यक्रमलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिइने वडाध्यक्ष उप्रेतीको भनाइ छ । वडाबाट उपलब्ध हुने सेवा सुविधाबाट कोही नदोहोरिने र कोही नछुट्ने तवरबाट सेवा प्रवाह भइरहेको उनका दाबी छ ।
भाग्यशाली बन्न सफल वडाबासीहरूलाई एक कार्यक्रमबीच वडा सदस्यहरू मनाेजकुमार थापा रैकामगर, ऋषिप्रसाद घिमिरे र सुजता रसाइलीले विद्युतीय चुल्हाे वितरण गरेका थिए ।
