खुदुनाबारी (झापा) । अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देन तामाङले आफ्नो घर अगाडि कालोपत्रे हुँदै गर्दा क्यारेम र लुडो खेल्न छोडेर सहयोग गर्न आग्रह गरेका छन् ।

 

उनले विरोधका नाममा विरोध गर्ने तर आफ्नै घर अगाडि कालोपत्रे हुदाँ वास्ता नगर्ने प्रवृत्ति हावी हुँदै गएको बताए । आज अर्जुनधारा नगरपालिका वडा नम्बवर ३ को कार्यालय परिसर खुदुनाबारीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै मेयर तामाङले विकास सबैको साझा दायित्व भएको बताएका हुन् ।

 

नगर क्षेत्रभित्र भइरहेको विकास निर्माणमा आम नगरबासीको चासो र चिन्ता हुनुपर्ने भन्दै आगामी दिनमा आफ्नो घर अगाडि कालोपत्रे हुँदै गर्दा क्यारेम खेलेर नबस्न आग्रह गरेका हुन् । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिँदैं उनले नगरको विकासको दायित्वमा नगरवासीको पनि उत्तिकै भूमिका रहेको बताए ।

 

‘काम गरेको नदेख्ने, नकारात्मक कुराहरु मात्र फैल्याउनु भनेको गैरजिम्मेवार नागरिकको काम हो’, उनले भने । विकास निर्माणदेखि नगरका सबै किसिमका कामहरुमा नगरबासीले ध्यान दिन जरुरी छ । सबैले तथ्यसहित आलोचना गरेको कुरा पाच्य हुने भए पनि बिना तथ्य गर्नु भनेको विरोधको लागि विरोध मात्र हुने स्पष्ट बनाए ।

 

सार्वजनिक सुनुवाईमा मेयर तामाङले खोला दोहनमा पनि नागरिकहरुको तर्फबाट पर्याप्त खबरदारी गर्नुपर्ने सूझाव दिए । खोला दोहन भइरहँदा मेयर नै आएर रोक्नुपर्छ भन्ने मानसिकता त्याग्नु अनुरोध गर्दै हरेक नागरिकले खबरदारी गर्ने र नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको सुनाए ।

 

कार्यक्रममा विरिङ पुल निर्माणको सम्बन्धमा उठेको जिज्ञासामा जवाफ दिँदै मेयर गोम्देनले पुल निर्माणका लागि प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसम्म पुगेर तत्काल निर्माणका लागि सहयोग मागेको जानकारी दिए । उनले आफूलाई पनि विरिङ पुल निर्माण गर्न धेरै हतार नै भएको जानकारी गराउँदै पुलको विषय प्राथमिकतामा राखेको उनको भनाई छ ।

 

सार्वजनिक सुनुवाईमा उपमेयर खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडा नं ३ का वडाध्यक्ष सिताराम भट्टराई, कृषि शाखाकी प्रमुख एन्जिला बेडारीलगायतले जवाफ दिएका थिए ।

 

सहभागीहरुले ट्रिपरलाई टाइम कार्ड लागु गर्नुपर्ने, वडामा टोल विकास संस्था, खेलकुद समिति गठन गर्नुपर्ने, बजारमा प्रभावकारी अनुगमन गर्नुपर्ने, ऐलानी जग्गाको समस्या समाधान गर्नुपर्ने, खोला दोहन रोक्नुपर्ने, अनुदानका सूचना सबैसम्म पुराउनुपर्ने, सडक बत्तीको समस्या समाधान गर्नुपर्ने, वडा नम्बर ३ को कार्यालय रहेको जग्गा क्षेत्रको समस्या समाधान गर्नुपर्ने, चुनावी घोषणा पूरा गर्नुपर्ने सवाल र सुझाव राखेका थिए ।

 

कार्यक्रममा अर्जुनधारा ३ का राजेन्द्र चापागाईं, प्रसाद गुरागाईं, छवि काफ्ले, शिव सेडाईं, दीपक दुलाल, यामकुमार बाँस्कोटा, मेदनी चापागाईं, सागर घिमिरे तथा २ नम्बर वडाका कमल बुढाथोकी, प्रेम आचार्य तोया आचार्यले आफ्ना जिज्ञासा तथा सुझाव राखेका थिए ।

 

अर्जुनधारा नगरपालिकाको आयोजना तथा इजलास मिडिया प्रालिको सहजीकरणमा भएको कार्यक्रममा वडाहरुबाट गरिएको नागरिक अभिमत र बहिर्गमन सर्वेक्षणको नतिजा कार्यक्रम संयोजक प्रदीप परियारले सार्वजनिक गरेका थिए । कार्यक्रमको सहजीकरण विजय तिम्सिनाले गरेका थिए ।