झापा । सुनसरीमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एक बालकसहित तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

 

हिजो साँझ ७ः२० सुनसरीको रामधुनी नगरपालिका ७ बासबिटीस्थित चतरा-कान्छीचोक सडकखण्डमा कालाबन्जार जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०५६ प ५८६४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

 

दुर्घटनामा पाँच जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । ५८६४ नम्बरको मोटरसाइकल चालक सुनसरी रामधुनी ६ बस्ने ३४ वर्षीय इनर्चन चौधरी र सोही मोटरसाइकलमा सवार उनका छोरा ९ वर्षीय प्रनिश चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । चौधरीकी ३२ वर्षीया श्रीमती प्रतिक्षा चौधरीको अवस्था गम्भीर रहेको छ ।

 

त्यस्तै, ९६०५ नम्बरको मोटरसाइकल चालक सुनसरी इनरुवा-६ बस्ने ५० वर्षीय बिन्दु यादवको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनको मोटरसाइकलमा पछाडि सवार इटहरी ७ बस्ने ३५ वर्षीय रमेश चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।