शनिश्चरे । ग्रामीण पत्रकारितासँगै पहिचानको विषयमा निरन्तर कलम चलाउँदै आएको यलम्बर टाइम्स साप्ताहिकले १८औं वर्ष प्रवेशको अवसरमा मुक्कुम्लुङ विशेषांक सार्वजनिक गरेको छ ।

 

किरात राई यायोक्खाको सभाहलमा आयोजित कार्यक्रममा ‘मुक्कुम्लुङ सन्देश यलम्बर टाइम्स’ विशेषांक प्रमुख अतिथि प्राज्ञ सुमित्रा वाङ्देल ‘चेली’, प्राज्ञ मुनाराज शेर्मा, साहित्यकार कुमार भट्टराई, कृष्ण बराल, कृष्ण थेवे, देशु वनेम, अर्जुनधारा प्रेस क्लब अध्यक्ष रमेश समदर्शी, चित्रा पौड्याल, यायोक्खा अर्जुनधारा अध्यक्ष विजय राईलगायतले संयुक्तरुपमा सार्वजनिक गरेका थिए ।

 

कार्यक्रममा प्राज्ञ सुमित्रा वाङदेल ‘चेली’ले पत्रपत्रिकाले मुक्कुम्लुङको विषयमा जति उठान र चर्चा चलाउनुपथ्र्यो त्यति गर्न नसकेको बताइन् । उनले यलम्बर टाइम्सले १८औं वर्ष प्रवेशको बेला मुक्कुम्लुङ सन्देश आमपाठकमाझ ल्याएर प्रशंसाको पात्र भएको बताइन् ।

 

प्राज्ञ मुनाराज शेर्माले मुक्कुम्लुङ (पाथीभरा) को मुद्दालाई लिएर प्रकाशित मुक्कुम्लुङ सन्देश विशेषांकले पूर्णरुपमा नभए पनि केही हदसम्म सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

 

उनले किरात लिम्बू जातिको यक (उद्गम स्थल) पूर्वी नेपालका जिल्लाहरु नै भएको हुँदा धार्मिक, सांस्कृतिकलगायत विभिन्न रुपमा लिम्बू जातिसँग मुक्कुम्लुङको प्रत्यक्ष सम्बन्ध रहेको बताए ।

 

कार्यक्रममा साहित्यकार कुमार भट्टराई, कृष्ण बराल, थाक्थुङ चुम्लुङका कृष्ण थेवे, साहित्यकार देशु वनेम, प्रेस क्लब अध्यक्ष रमेश समदर्शीलगायतले विशेषांकबारे आफ्नो विचार राख्दै मुक्कुम्लुङ धार्मिक आस्था, सस्कृतिसँग मात्र नभई पर्यावरणसँग पनि अन्तरसम्बन्धित भएको हुँदा सबैले चासो दिनुपर्नेमा जोड दिए ।

 

यलम्बर टाइम्सका सम्पादक तथा प्रकाशक दिपीन राईले मुक्कुम्लुङ के हो ? त्यहाँ किन विवाद भइरहेको छ ? मुक्कुम्लुङको मुद्दाको विषय सामान्य भूईं मान्छेहरुलाई जानकारी दिने उद्देश्यले विशेषांकको रुपमा मुक्कुम्लुङ प्रकाशनमा ल्याएको बताए ।

 

उनले पहिचानको मुद्दासँगै मुक्कुम्लुङको विषय पनि पेचिलो बन्दै आएको बताउँदै स्थानीय स्तरसम्म नै बहस चलाउनको लागि आम पाठकमाझ विशेषांक ल्याएको बताए ।

 

सम्पादक प्रकाशक राईले विशेषांकमा विषय विज्ञ, बौद्धिक व्यक्ति लगायतको अनुसन्धानमुलक लेख रचनाहरु समेटिएको हुँदा एउटा दस्तावेजको रुपमा रहने दाबी गरेका छन् ।

 

कार्यक्रममा लेखक अभागी थेगुवा, सन्तोष नेम्वाङ, चित्रा पौड्याल, लीला राई, नारी सञ्चार गृहकी निवर्तमान अध्यक्ष रेजिना रोदन, यायोक्खा सल्लाहकार क्या शिवकुमार राई, युवा व्यक्तित्व चन्द्र राना ‘लाफा’, सञ्चारकर्मी चतुर्भुज काफ्ले, विष्णु कुल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

 

सम्पादक राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसम्पादक राजन साम्पाङले गरेका थिए भने कार्यक्रमको सञ्चालन यायोक्खा सचिव सिंहबहादुर राईले गरेका थिए । आउँदो साउन महिनाबाट यलम्बर टाइम्स १८औं वर्षमा प्रवेश गर्दैछ ।