शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (धनीपुर्जा) वितरण गरेको छ ।

 

अर्जुनधारा नगरपालिकाको आयोजनामा आज नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाललगायतले ९६ जनालाई धनीपुर्जा प्रदान गरेका हुन् ।

 

झापा क्षेत्र नं २ का सांसदसमेत रहेका सभामुख घिमिरेले अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा वितरण गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै नगरका सबै अव्यवस्थित बसोबासीहरुलाई क्रमशः धनीपुर्जा वितरण गर्नुपर्ने बताए ।

 

१२८ जनालाई धनीपुर्जा प्रदान गर्ने भनिए पनि अर्जुनधारा ११ स्थित लक्ष्मीधाप टोलअन्तर्गतका ९६ जना स्थानीयबासीलाई धनीपुर्जा वितरण गरिएको नगरप्रमुख बलदेव गोम्देनले जानकारी दिए । राजश्व संकलन लगायतका प्रक्रिया पूरा नहुँदा बाँकी रहेकालाई अर्को पटक धनीपुर्जा वितरण गर्ने बताइएको छ ।

 

नगरप्रमुख गोम्देनले नगरमा रहेका भूमिसम्बन्धि समस्याहरूबारे सभामुख, मन्त्री र आयोगका केन्द्रीय अध्यक्ष रिजाललाई जानकारी गराएका थिए ।

 

गत जेठ २६ गते सार्वजनिक सूचना जारी गरी उक्त क्षेत्रका लाभग्राहीलाई आवश्यक कागजातसहित राजस्व बुझाउने समय दिइएको थियो । सोअनुसार कागज पुर्‍याएर प्रक्रिया पूरा गरेका ९६ जना लाभग्राहीलाई धनीपुर्जा वितरण गरिएको नगर उपप्रमुख खड्गमाया पराजुलीले जानकारी दिइन् ।