इलाम । माईजोगमाई गाउँपालिका २ का २३ वर्षीय प्रकाश चापागाईलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका १ का किरण शेर्पा पक्राउ परेका छन् ।

 

असार ३२ गते राति शेर्पाले चापागाईसहित ससुराली घरमा बस्दै आएका उनका दाजु ३२ वर्षीय निरोज चापागाईलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । सामान्य विवादको क्रममा छुरा प्रहार गर्दा प्रकाश चापागाईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

उनका दाजु निरोज चापागाई गम्भीर घाइते भएपछि बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । हत्यापछि फरार शेर्पालाई खोजतलासको क्रममा साउन १ गते सूर्योदय नगरपालिका १ स्थित मानेभञ्ज्याङमा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका शेर्पामाथि कर्तव्य ज्यान कसुरमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुन्सधान तथा कानुनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।