झापा । इलाममा आमा-छोरा मृत्यु भेटिएका छन् ।आमाको लडेर मृत्यु भएको हो भने छोराले झुन्डिएर आत्महत्या गरेका हुन् ।

 

इलाम सन्दकपुर ४ सोमबारे बस्ने ओमभक्त सिवाकी श्रीमती ५७ वर्षीया मनमाया सिवा आफ्नै घरदेखि अन्दाजी ५० मिटर दक्षिण बाटोमा उत्तानो परी मृत अवस्थामा हिजाे फेला परेकी थिइन् । घटनाबारे जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी माबुबाट प्रहरी नायव निरीक्षक बेदबहादुर खड्काको टोली खटिएको थियो ।

 

मृतकमा बाहिरी चोट देखिएको छैन । उनले मादक पदार्थ सेवन गर्ने गरेकी थिइन् । उनी बिरामी भई धामी भेट्न जाँदै गर्दा मृत फेला परेको बुझिएको छ । अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा टोली खटिएको थियो ।

 

त्यस्तै, आज दिउँसो अन्दाजी १२ः१५ बजे मनमायाका छोरा सन्दकपुर ४ घर भई इलाम नगरपालिका ७ नबिन चौकस्थित बिष्णु केसीको घरमा भाडा लिई बसेका ३३ वर्षीय कमल सिवाले झुन्डिएर आत्महत्या गरेका छन् । घर कोठामा कोही नभएको समयमा कोठा बन्द गरी छानाको काठको बलोमा प्लास्टिकको डोरीको पासो लगाई उनी झुन्डिएका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय इलाममा खबर प्राप्त हुनसाथ अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि प्रहरी निरीक्षक बोगटीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । दुबै लाशको कानुनी प्रक्रिया पूरा भएर शव जिल्ला अस्पताल इलाम पठाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।