झापा । अर्जुनधारा नगरपालिका वडा नम्बर ६ को एक उपाभोक्ता समितिले अध्ययन, अनुगमन भ्रमण शीर्षकबाट बचेको रकमबाट तीन दिने अचार बनाउने तालिम सम्पन्न गरेका छन् ।

वडा समितिको आयोजनामा आयोजित तीन दिवसीय अचार बनाउने तालिम सम्पन्न भएको हो । वडास्तरमा रहेका महिला उद्यमीहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिममा ५० हजार खर्च भएको बताइएको छ ।

वडाले अध्ययन भ्रमणमा दुई लाख रुपैयाँ विनियोजन गरेको भए पनि बचत भएको ५० हजार रुपैयाँको लगानीमा आयोजना तालिम गरिएको वडा सदस्य तुम्मनाथ काफ्लेले जानकारी दिए ।

अध्धयन, अनुगमन भ्रमण समितिकी संयोजक कुसुम कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा तालिमका ३० जना सहभागीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

शिव बाबा अचार तथा जुस उद्योगका सञ्चालकद्वय दिनानाथ शिवाकोटी र अम्बिका शिवाकोटीले सहजीकरण गरेको तालिमका सहभागीहरुलाई आँप, जल्पाई र मिक्स गरी तीन प्रकारको अचार बनाउन सिकाइएको थियो ।

कार्यक्रममा वडाध्यक्ष लोकनाथ गौतम, वडा सदस्यद्वय अर्जुन मेचे र माया खातीलगायतले तालिमबाट प्राप्त सीपलाई व्यावसायिकरुपमा प्रयोग गर्न सुझाएका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य लक्ष्मी महतराले गरेकी थिइन् ।