झापा । जेनजी प्रदर्शनकारीहरुले प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी गर्दा झापामा करिब सयजना थुनुवा फरार भएका छन् ।

 

इलाका प्रहरी कार्यालय बिर्तामोड र दमकमा रहेका थुनुवाहरु भागेका हुन् । प्रदर्शनकारीहरुले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय दमकमा रहेका ४० जना थुनुवाहरु फरार भएको एक प्रहरी अधिकारीले बताएका छन् ।

 

त्यस्तै, बिर्तामोडमा ५० जनाको हाराहारीमा रहेका थुनुवा भागेको अनुमान गरिएको छ । सबै कागजपत्र र सरसामान जलेर नष्ट भएकाले थुनुवाको संख्याबारे जानकारी दिन नसकिने बताइएको छ ।

 

लामो झडपपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रवेश गरी ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरुले तोडफोड, आगजनी र लुटपाट मच्चाएपछि प्रहरीहरु आत्म समर्पण गरी एकसरो लुगामा त्यहाँबाट भागेर ज्यान जोगाएका थिए ।

 

अहिले प्रदर्शनकारीहरुको निशानामा परेका प्रहरी कार्यालयहरु खाली गरी सबै प्रहरीहरु जिल्ला प्रहरी कार्यालयमा एकत्रित भएका छन् । त्यहीबाट प्रहरीले संयुक्त काम कार्वाही गर्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।