झापा । जिल्लाका तीन पालिकामा मंगलबार राति पनि निषेधित क्षेत्र घोषणा गरिएको छ । बिर्तामोड र दमकमा नगर क्षेत्रभर र भद्रपुरको केही भागमा रातको समयमा निषेधाज्ञा जारी नै रहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

 

सर्वसाधारणको जीउधन तथा सार्वजनिक सम्पत्तिको सुरक्षा साथै शान्ति सुव्यवस्था कायम राख्न आज (मंगलबार) राति ८ देखि बिहान ४ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको हो ।

 

निषेधाज्ञा बिर्तामोड र दमक नगर क्षेत्रभर राति कायम रहने जनाइएको छ भने भद्रपुरमा पूर्वमा चन्द्रगढी विमानस्थल, पश्चिममा लेखनाथ चोक, उत्तरमा धनुष मोड र दक्षिणमा राष्ट्रिय वाणिज्य बैंक तोकेर निधेधाज्ञा जारी गरिएको छ । पूर्व-पश्चिम राजमार्ग भई गुड्ने लामो दूरीका सवारी साधनमा आवागमनमा यो आदेशले बाधा नगर्ने प्रशासनले जनाएको छ ।

 

आदेशको उल्लंघन गरी उल्लेखित समयमा बिनास्वीकृति पाँच जनाभन्दा बढी व्यक्ति आवातजावत गरेमा वा भेला भएमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारबाही गर्नसक्ने समेत झापा प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।