झापा । गएराति आएको आरीघोप्टे वर्षाका कारण कन्काई नदीको जलसतह खतरा लेभलमा पुगेपछि गौरीगञ्ज र झापा गाउँपालिकाका जोखिमपूर्ण ठाउँका मानिसहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।

 

जोखिममा पर्न सक्ने मानिसहरुलाई सशस्त्र र नेपाल प्रहरीको टोली, स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाहरुको सहयोग र सहकार्यमा सुरक्षित ठाउँमा राखिएका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताएका छन् ।

 

उनले कन्काई र बिरिङ नदीमा खतराको तह पार गरेर बाढी आइरहेको जानकारी दिए । कन्काई नदीको जलसतह बिहानसम्म ५ः१२ को लेभलमा थियो । ३.८ लाई सचेतना र ४.३ लाई खतरा मानिन्छ ।

 

यसअघि २०७४ सालमा कन्काई नदीको सतह ५.४ पुगेको थियो । बिरिङ खोलाको जलसतह पनि खतराको लेभलमा पुगेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताएका छन् ।