इलाम । तिहारमा देउसी खेल्दाखेल्दै लडेर इलाममा एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो ४ः३० बजे इलाम ९ स्थित भगवती टोलका ५३ वर्षीय चन्दबहादुर बिष्ट मृत्यु भएको हो ।

 

स्थानीय शेरबहादुर लावतीको घरमा साथीहरुसँग देउसी खेल्ने क्रममा उनी अचानक लडेका थिए । घाइते विष्टलाई आफन्तले जिल्ला अस्पताल इलाम पुर्‍याएकोमा साँझ ७ः२१ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

 

घटनाको जानकारी पाएपछि प्रहरी चौकी गोलाखर्कबाट प्रहरी बरिष्ठ हवल्दार शम्भु राजवंशीको कमाण्डमा प्रहरी टोली घटनास्थल गएको थियो भने थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा ५ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।