शम्भु यादव,
सिरहा । मानिसको मृत्यु भए १३ दिन किरिया बस्ने सामाजिक संस्कार छ। ऋण लिएरै भए पनि भोज खुवाउनै पर्ने मधेसी प्रचलन छ। मर्दा चार गाउँ भोज गर्ने, तेह्र दिन किरिया बस्ने पर्ने माइजन (जातिको मुखिया) ले कर गर्छन्।
पुस्तौंदेखिको सामाजिक परम्परा तोड्दा सिरहा नगरपालिका-१९ सन्हैठा गाउँका बौद्धिक नेता रामरिझन यादव गाउँलेबाट बहिष्कारमा परेका छन्। मुखियाले श्रद्धाञ्जली सभामा नजान निर्देशन दिएकाले गाउँले सभामा सहभागी भएन एक स्थानीयले भने।
आमा जगियादेवीको शोक चार दिनमै सक्दा उनी बहिष्कारमा परेका हुन्। सात वर्षअघि बाबुको निधन हुँदा उनले चार दिनमै किरिया छोट्याएका थिए। किरिया छोटयाएपछि उनी समाजबाट अपहेलित भएका हुन्। उनलाई यादव जातिबाटै निष्कासन गरिएको छ। भोज नगरी उनले त्यसबापतको खर्च गाउँकै विद्यालयमा अक्षय कोष स्थापना गरेका छन्।
बौद्धिक नेतामा गनिने उनलाई चुनाव लड्दा परम्परा मासेको भन्दै भोट नदिनेको ठूलो जमात छ। उनी समाजवादी पार्टीका नेता हुन्। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यादव प्रेस सल्लाहकार थिए।
चार दिनअघि असार ८ गते उनकी ९० वर्षीया आमा जगियादेवी यादवको विराटनगरमा मृत्यु भएको थियो। विराटनगरमै उनले आमाको दाहसंस्कार गरे। गाउँमा आएर बिहीबार चार दिनमा किरिया सकाए। यादवले गाउँमै बिहीबार श्रद्धाञ्जलीसभा आयोजना गरेका थिए।
सभामा जिल्लाका सामाजिक व्यक्तित्वको उपस्थिति रह्यो। तर, गाउँले आएनन्। यसअघि उनले बाबु विश्वनाथ यादव बित्दा २०६९ सालमा चार दिनमै किरिया सकाएका थिए। रामरिझनले बुबाको पालामा पनि गाउँलेलाई भोज खुबाएनन्। भोज नखुवाएपछि गाउँलेले उनलाई जातबाट निष्कासन गरिदिए।
रामरिझनका दुई आमा थिए। उनकी कान्छी आमा जानकीदेवीको ०६२ सालमा निधन हुँदा भाइ सुरेशचन्द्र सुमनले चार दिनमै किरिया सकाएका थिए। गाउँलेले कर गरेपछि बाध्य भएर मलामी गएकालाई भोज खुवाए। भोजमा खर्च गर्नुको साटो उनले आमाबुबाको नाउँमा जानकी विश्वनाथ प्रतिष्ठान दर्ता गराउँदै २ लाख रुपैयाँको अक्षयकोष खडा गरे। त्यो कोषबाट प्रत्येक वर्ष गाउँकै माध्यमिक विद्यालय सन्हैठाबाट एसईई पास भएर उच्च शिक्षा पढ्ने दुई जना छात्रालाई छात्रवृत्ति दिँदै आएका छन्।
‘बुबा विश्वनाथको मृत्यु भएको केही महिनापछि उनलाई ५० हजार जरिवाना गरी गाउँलेले जातीय समूहबाट निष्कासन गरेको निर्णय फुकुवा गरे’, उनले भने, ‘त्यो ५० हजार रुपैयाँ पनि भोजमा खर्चिनुपर्ने। गाउँलेको अडान थियो। तर, मैले अक्षय कोषमा रकम थपे।’ गाउँलेले जे गरे पनि आफू काजकिरिया छोट्ट्याउने पक्षमा रहेको उनले बताए।
‘काजकिरिया र भोज गरेर मधेसमा धेरै घरपरिवार बर्बाद हुँदै आएको छ’, उनले भने, ‘त्यो परम्परा परिवर्तन गर्नै पर्छ।’ ‘भोजको नाममा जग्गा बेच्न लगाउने, ऋण गरेर भोज गरिन्छ, त्यो काम बन्द गर्नै पर्छ’, उनले भने। ‘गाउँको स्कुलको अवस्था खस्कँदै गएको गाउँलेलाई मतलव हुँदैन’, उनले भने, ‘उल्टै घर, चिया पसलमा कुरा काटेर बस्छन्। शिक्षामा पहुँच पु¥याउनुपर्छ। जसले समाजका विकृतिलाई हटाउँछ।’
पञ्चायतको कुरा मान्नुपर्ने अडान गाउँलेको छ भने नेता यादव त्यसविरुद्ध शैक्षिक स्तर उकास्नमै लाग्ने गरेको छ। ‘अहिले रामरिझनले अँगालेका कुरा गाउँले मान्न तयार देखिएका छैनन्, तर, विस्तारै यही बाटोमा लागिरहेका देखिन्छन्’, स्थानीय ७० वर्षीय वृद्ध विलम नारायण यादवले भने।
विस्तारै मृत्युकर्ममा पनि परिवर्तन आउनेमा उनको विश्वास छ। मृत्युकर्म छोट्याउन उठाएका विषय गलत नभएको उनको तर्क छ। समाजलाई पनि बुझाउँदै अगाडि बढ्नुपर्ने उनले सुझाए। अन्नपूर्णमा खबर छ ।