झापा । जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका स्थित ४ बाहुनडाँगीमा एकजनाको मृत्यु भएको छ ।
आज बिहान अन्दाजी ६ः३० बजे बाहुनडाँगीस्थित खड्का डाँडामा तत्काल नाम थर वतन नखुलेका भारतीय जस्तो देखिने अन्दाजी ५०-५५ वर्षका पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेको हात्तीसँग जम्काभेट भएपछि हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बाहुनडाँगी क्षेत्रमा मागेर खाई हिँड्ने खुले पनि उनको पहिचान खुलिनसकेको र भारततर्फ पनि जानकारी गराइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजन लामाले बताए ।