लक्ष्मी काफ्ले,
झापा । बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी जोडिने सडकको लम्बाइ जम्मा अढाई किलोमिटर हो । यो सडकखण्डलाई चार लेनको बनाउने गरी काम सुरु भएको १४ महिना बितिसक्यो । सम्झौताअनुसार सडक निर्माणको काम आगामी असोजभित्र सकिनुपर्छ । तर, अहिलेसम्म सडक किनाराको दायाँबायाँ नाला बनाउने कार्य पनि पूरा हुन सकेको छैन ।

सडक डिभिजन कार्यालय झापाले १८ महिनाभित्र बिर्तामोड-भद्रपुर सडकको चार किलोमिटर खण्ड निर्माण पूरा गर्ने गरी आशिष प्रेरा जेभीसँग गत वर्ष २४ असारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार बिर्तामोड बजार क्षेत्रको अढाई किलोमिटर सडक चार लेनको र बाँकी डेढ किलोमिटर दुई लेनको बनाउनुपर्ने छ । तर, काम अत्यन्तै सुस्त छ ।

स्मार्ट सिटीको अवधारणाअनुसार बिर्तामोड–भद्रपुर रोडको बजार क्षेत्रभित्रका सडक चार लेनको बनाउन लागिएको हो । तर, सम्झौता अवधि सकिन लाग्दा पनि काम गराइको गति अत्यन्तै सुस्त छ । काम गराइ अत्यन्तै ढिला भइरहेको सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले पनि स्वीकारे ।

‘कामको गति निकै नै सुस्त देखिन्छ र यस विषयमा जनगुनासो पनि व्यापक छ’, सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले भने, ‘हामीले निर्माण कम्पनीलाई काम चाँडो गर्न भनेका छौँ, स्पिड बढाउनुपर्ने जरुरी भएकाले सोहीअनुसार निर्देशन दिएका हौँ ।’

सुरुमा क्षेत्राधिकारको समस्या भए पनि अहिले सडक निर्माणमा कहीँकतैबाट अवरोध छैन । खानेपानी, विद्युत् प्राधिकरण र टेलिकमले आ-आफ्नो जिम्मेवारी पूरा गरिरहँदा पनि निर्माण कम्पनीले भने आलटाल गरिरहेको छ । निर्माण कम्पनी र सडक डिभिजन कार्यालयको बेवास्ताकै कारण सडकको यस्तो हालत भएको बिर्तामोड साना सहरी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङले बताए । २७ करोड लागत रहेको सडकमा काम गर्ने मजदुर ३० जना पनि नभएको र त्यसमा पनि उनीहरू नियमित नआउने उनले बताए ।

स्थानीय र व्यापारी आक्रोशित
सडक खनेर मात्र छाडिएका कारण पानी परेको समयमा हिलाम्मे हुन्छ भने पानी नपरेको समयमा धुलोले बसिनसक्नु हुन्छ । त्यसैले सडक छेउछाउका बासिन्दा र व्यवयासी आक्रोशित छन् ।

‘सडक छेउका व्यवसायीहरू बिहानदेखि बेलुकीसम्मै पसल खोलेर बस्नुपर्छ । तर, धुलो र हिलोले ग्राहक नै आउँदैनन्’, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेले भने, ‘व्यापार नहुँदा व्यवसायीले सटरको भाडा, बैंकको ब्याज कसरी तिर्न सक्छ ।’

उनले यसलाई बिर्तामोड नगरपालिका र सडक डिभिजन कार्यालय दमकले गम्भीर रूपमा नलिए व्यवसायी सडकमा आउने चेतावनीसमेत दिए । आजको नयाँ पत्रिकामा समाचार छ ।