झापा । झापामा लामो समयदेखि साइकल, मोवाइल, मोटरसाइकल, फलामको पाइप, मोटरलगायतका सामानहरु चोरी गर्ने दुई जनालाई एक गोदाम चोरीको सामानसहित प्रहरीले अर्जुनधाराबाट पक्राउ गरेको छ ।

 

अर्जुनधारा वडा नम्बर ६ स्थित बिहानी टोल बस्ने मोहमद उसिम मुदिलको घरमा डेरा लिएर बस्ने दुईजना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत विहार राज्य किसनगंज स्थायी ठेगाना भई हाल अर्जुनधारा ६ बस्ने ३५ वर्षीया खतिजा वेगम र सोही ठाउँ बस्ने २३ वषीय मोहमद रज्जाक रहेका छन् ।

 

विभिन्न सामानहरु चोरी गरी लुकाईछिपाई राखेको भन्ने जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर चोरीका सामान बरामद गरेको थियो । प्रहरीले उनीहरूको कोठाबाट ९ थान साइकल, २३ थान पानी तान्ने मोटर, फलामको पाइपको ४७ वटा टुक्राहरु, प्रदेश नं. १–०१–०१५ प ९३४४ नम्बरको मोटरसाइकल, मोटरसाइकलको सवारी दर्ता किताब एक थान, स्पोकसहितको टायर रिङ ६ थान, रिङमात्र १ थान, फलामको रड १८ थान, गाडी धुने पम्प एक थान, मोटरको फलामको रोटर ६ थान, ग्यास इन्डेक्सन चुलो एक थान र मोटरसाइकलको मोटरगार्ड, सकअप र टि सहितको एक थानलगायतका सामान बरामद भएको जनाएको छ ।

 

यसैगरी, कुटी काट्ने मेसिन, मोबाइल, सामसुङ कम्पनीको ट्याब, साउण्ड बक्सलगायतका सामग्री शनिश्चरे प्रहरी चौकीको सहयोगमा बरामद गरिएको हो ।