अर्जुनधारा (झापा) । उत्कृष्ट पुनरागमन गर्दै कमल गाउँपालिकाले अर्जुनधारामा आजदेखि सुरु झापा जिल्ला पालिकास्तरीय यू-१८ फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

 

अर्जुनधारा खेलमैदानमा भएको उद्घाटन खेलमा उपाधिको दाबेदार बिर्तामोड नगरपालिकालाई टाइब्रेकरमा ५-३ गोलअन्तरले पराजित गर्दै कमल गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

निर्धारित खेलमा २-२ गोलको बराबरी भएपछि टाइब्रेकरबाट छिनोफानो लिइएको हो । सुरुवाती अग्रता बिर्तामोडले बनाए पनि लामो समय टिक्न सकेन ।

 

बिर्तामोडका शिव कार्कीले खेलको ३ मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । यसैगरी, बिर्तामोडकै आयुष दूतराजले खेलको २६औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् ।

 

तर, दोस्रो हाफमा कमल गाउँपालिकाले बराबरी गोल फर्कायो । कमल गाउँपालिकाका प्रकरण राईले खेलको ४५औँ र ४९औँ मिनेटमा व्यक्तिगत दुई गोल गरेर टिमलाई पुनरागमन गराए । उनी प्लेयर अफ दी म्याच बन्दै नगद २ हजार ५ सय पाउन सफल भए ।

 

टाइब्रेकरमा कमल गाउँपालिकाका अनुप सिवा, कविन भट्टराई, साहिल लिम्बू, अंगुस श्रेष्ठ र प्रशन चौहानको प्रहार गोलमा परिणत भएको थियो ।

 

बिर्तामोडका शिव कार्की, फिरोज राई र आयुष चौधरीको प्रहार गोलमा परिणत हुँदा सतिश राईको प्रहार कमल गाउँपालिकाका गोलरक्षक प्रवेश कार्कीले रोकेका थिए ।

 

शनिश्चरे फुटबल क्लबको आयोजना तथा अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलप्रेमी तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले गरेका थिए ।

 

प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ । ९ वटा पालिकाको टिम सहभागी प्रतियोगिताको विजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउने छ । उपविजेताले नगद ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।

 

सर्वोत्कृष्ट बन्ने खेलाडीले नगद ७ हजार पाउँदा विधागत विजेता खेलाडीले जनही ५-५ हजार पाउने प्रतियोगिताका संयोजक टेकराज तिलिङले जानकारी दिए । सोमबार बाह्रदशी गाउँपालिकाले कनकाई नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।