खुदुनबारी । झापाको अर्जुनधारा ३ स्थित खुदुनाबारीमा रहेको प्रस्तावित प्राकृतिक रंगशालामा शुक्रबारदेखि वडास्तरीय अण्डर १७ नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

 

अर्जुनधारा नगरपालिकाका ११ वटा वडाको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ११ ले विजयी सुरुवात गरेको छ । छिमेकी वडा १० नम्बरलाई टाइब्रेकरमा ३-२ गोलअन्तरले पराजित गरेर ११ नम्बर वडा दोस्रो चरणमा प्रवेश गरेको हो ।

 

सुरुवाती अग्रता १० नम्बर वडाका नविन चेम्जोङ तागेराले खेलको ४४औँ मिनेटमा गोल गर्दै गरेका थिए । तर, वडा नम्बर ११ का सुधन नेम्बाङले ३ मिनेटपछि कमब्याक गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।

 

टाइब्रेकरमा जित निकालेको ११ नम्बर वडाका गोलकर्ता सुधन नेम्बाङ प्लेयर अफ दी म्याच बने । उनलाई अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देनलगायतले नगद १ हजार ५ सयसहित ट्रफी प्रदान गरे ।

 

स्थानीय खुदुनाबारी परोपकार केन्द्रले आयोजना गरेको प्रतियोगिताको उद्घाटन नगर प्रमुख गोम्देनले गरेका थिए । असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजारसहित ट्रफी पाउने आयोजकका अध्यक्ष लिलाबल्लभ खतिवडाले जानकारी दिए ।