अर्जुन राजवंशी,
बिर्तामोड । जामुनबारी सामुदायिक वन उपभोक्ता समूह वन्यजन्तु संरक्षणमा जुटेको छ । लोपोन्मुख वन्यजन्तु संरक्षणका लागि सामुदायिक वनले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ ।
वन समूहले अहिले १० बिघाभन्दा बढी जंगल क्षेत्रमा घेराबारा गरेको छ । घेराबारभित्र ‘वन्यजन्तु उद्धार तथा पुनःस्थापना केन्द्र’ सञ्चालन गर्न लागेको वन समूहका अध्यक्ष ख्यामराज सिटौलाले बताए । कन्काई नगरपालिका १ र २ स्थित जामुनबारी सामुदायिक वन क्षेत्रमा जामुनखाडी सिमसार तथा पर्यटकीय स्थल सञ्चालित छ ।
सुरुमा पर्यटकीय स्थलमा मनोरञ्जनका लागि वन्यजन्तु ल्याइएका थिए । अहिले वन्यजन्तुको संख्या वृद्धि हुँदै गएपछि त्यसको व्यवस्थित व्यवस्थापनमा जुटेको अध्यक्ष सिटौलाले बताए । सिमसार क्षेत्रमा मृग, हुचिल, अजिङ्गर, गिद्ध, चित्तल, चितुवा, भालु, नीर बिरालो, कछुवा, लोखर्के, खिरखिरे, डेढु, बाँदर, नीलगाई, सेतो मुसा, गिनिपिक, खरायो, लाटकोसेरो, गरुड, वनढाडे, इमु, टर्कीलगायत दुई दर्जन वन्यजन्तुलाई संरक्षण गरी राखिएको कर्मचारी कमल घिमिरेले बताए । वन्यजन्तु रेखदेखका लागि दैनिक १० कर्मचारी खटाइएका छन् ।
सिमसार क्षेत्रमा घुम्न आउने पर्यटकलाई मनोरञ्जनका लागि ०६६ मा दुईवटा चित्तल ल्याइएको थियो । वन्यजन्तुतर्फ पर्यटकको आकर्षण बढ्दै गएपछि सिमसार क्षेत्रमा अन्य जातका वन्तजन्तु पनि ल्याइएका थिए ।
‘दुइटाबाट बढेर अहिले चित्तलको संख्या मात्र ४० पुगेको छ’, सिटौलाले भने, ‘वन्यजन्तुको वृद्धि विकासलाई ध्यानमा राखेर उद्धार तथा पुनःस्थापना केन्द्र निर्माण थालेका हौं ।’ केन्द्र निर्माण लागि प्रदेश १ को उद्योग पर्यटन तथा वन वातावरण मन्त्रालयले ७५ लाख रुपैयाँ सहयोग गरेको छ । वन समूहले १० लाख रुपैयाँ थप गरी ८५ लाख रुपैयाँका लागि पक्की र तारजालीसहितको घेराबारा गर्ने कार्य भइरहेको छ ।
‘हामीले भविष्यमा प्रदेश १ कै चिडियाघरका रूपमा विकास गर्नेगरी वन्यजन्तुको संरक्षण र उनीहरूका लागि भौतिक पूर्वाधार निर्माणलाई अघि बढाएका छौं’, सिटौलाले बताए । पोषण तथा रेखदेख गर्ने कर्मचारीलाई गरी वन्यजन्तुलाई मात्र मासिक करिब ५ लाख रुपैयाँ खर्चिने गरेको वन समूहका उपाध्यक्ष दिलकुमार राईले जनाए । ०५२ मा दर्ता भएको जामुनबारी सामुदायिक वन उपभोक्ता समूहले ०६५ सालदेखि जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सञ्चालनमा ल्याएको हो ।
वन क्षेत्रलाई पर्यापर्यटनका रूपमा विकास गरेपछि उक्त सामुदायिक वन जिल्लाकै उदाहरणीय सामुदायिक वन बनेको छ । जामुनखाडी सिमसार क्षेत्रमा मासिक २० हजारभन्दा बढी आन्तरिक एवं बा≈य पर्यटक आउने गरेका छन् । पर्यटकीय स्थलबाट मात्र वार्षिक करिब दुई करोड रुपैयाँ आम्दानी हुने गरेको छ ।
उक्त आम्दानीबाट सामुदायिक वनले वन्तजन्तु संरक्षणका साथै आफ्ना उपभोक्ताको घरमा सोलार जडान, गोबरग्यास निर्माण, औषधि उपचारमा सहयोग, शौचालय, सडक निर्माण, शिक्षा, स्वास्थ्य, विद्युत् विस्तार, खानेपानी, सीपमूलक तालिमलगायतमा वार्षिक करोड बढीको बजेट खर्चिने गरेको छ ।
४३४ हेक्टरमा फैलिएको सामुदायिक वनमा ६ सय ८४ घरधुरीका उपभोक्ता आबद्ध छन् । वन समूहले सिमसार क्षेत्रको विस्तार तथा व्यवस्थापनको काम पनि गरिरहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।