सांकेतिक तस्वीर ।

झापा । झापाको भद्रपुर नगरपालिका १० धनुषमोडमा सिरिञ्ज (सुई) प्रहारबाट ६४ वर्षीय बृद्धको मृत्यु भएको छ । हिजो साँझ सिरिञ्ज प्रहारबाट स्थानीय खेमराज ढकाल घाइते भएका थिए ।

 

प्रहरीका अनुसार ढकाललाई सिरहाको विष्णुपुर गाउँपालिका १ बस्ने २६ वर्षीय दिनेशकुमार सिंहले ढकालकै घरमा सुईले घाँटीमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

 

घाइते ढकाललाई तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्पताल लगिएकाे थियाे । तर, उपचारका क्रममा चिकित्सकले बिहीबार राति नै मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरीले सुई प्रहार गर्ने अभियुक्त दिनेशकुमार सिंहलाई सुईसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।