झापा । नेपाल-भारत सीमामा दुई थाई नागरिकसहित चारजना पक्राउ परेका छन् । झापाहुँदै नेपालबाट भारत प्रवेश गर्न खोज्दा उनीहरु पक्राउ परेको बताइएको छ ।

 

एसएसबी रानीडाँगा ४१औं बटालियनअन्तर्गत बीओपी मदनजोतका जवानहरूले शनिबार बिहान करिब ५ः३० बजे नेपाल–भारत सिमानासँगै भारतीय पिलर नम्बर ८८/०८ नजिक रथखोला क्षेत्रमा पक्राउ गरेका हुन् । यो क्षेत्र भारतको नक्सलबारी थाना क्षेत्रमा पर्छ।

 

अभियानको क्रममा क्विक रेस्पोन्स टोलीले दुई थाई नागरिक, एक नेपाली र एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने थाई महिलामा ४३ वर्षीया नुस्रा किंगवान र ३३ वर्षीया सावनी चलासाई रहेका छन् । नेपाली र भारतीय नागरिकको पहिचान खुलाइएको छैन ।

 

प्रारम्भिक अनुसन्धानका क्रममा भारतीय सुरक्षा एजेन्सीहरूले ‘थाइ मसाज’ चलाउने दुवै महिलाहरु यौन व्यापार नेटवर्कसँग संलग्न हुन सक्छन्। जानकारी अनुसार उनीहरू अनधिकृत भौगोलिक मार्ग प्रयोग गरेर भारत प्रवेश गर्ने प्रयास गर्दै थिए।

 

उनीहरुसंग एउटा कार, धेरै मोबाइल फोन, पासपोर्ट, आधार कार्ड र अन्य पहिचानसम्बन्धी दस्तावेजहरू पनि बरामद गरिएको जनाइएको छ। पक्राउ परेका सबैलाई कानुनी प्रक्रियाको लागि नक्सलबारी प्रहरीलाई बुझाइएको छ ।