झापा । आफूले लगाएकाे पेन्टी (भित्री वस्त्र)भित्र प्रतिबन्धित लागूऔषध ब्राउनसुगर लुकाएर ल्याउने झापा कमल गाउँपालिकाका एक युवक पक्राउ परेका छन् ।
हिजो दिउँसो २ः३० बजे मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्गहुँदै भारतबाट नेपालतर्फ आउँदै गरेका कमल गाउँपालिका ६ त्रिवेणी चौक बस्ने १८ वर्षीय विवेक यादवले पेन्टीभित्र लागूऔषध लुकाएर ल्याएका थिए ।
इलाका प्रहरी कार्यालय र लागूऔषध ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर शरीर तलासी लिने क्रममा यादवले लगाएको पेन्टीभित्र लुकाएर ल्याएको प्लाष्टिकबाहेक १४ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।
यादवलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।