झापा । झापामा सिटी सफारी चोरीमा संलग्न १० जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट चोरिएको ७ वटा सिटीसहित २१ लाख ५५ हजार बराबरको सामान बरामद भएको छ ।
झापाको भद्रपुर, बिर्तामोड र काँकरभिट्टा लगायतका स्थानहरुबाट विभिन्न मिति र समयमा पार्किङ स्थलहरुमा पार्किङ गरिराखेको सिटी सफारीहरु चोरी भएको थियो । चोरीका घटनापछि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले खोजतलास तथा अनुसन्धान थालेको थियो ।
त्यसक्रममा चोरी कार्यमा संलग्न गिरोहलाई सीसीटीभी फुटेजको सहायतामा हुलिया पहिचान गरी नियन्त्रणमा लिन झापा प्रहरी सफल भएको हो । चोरी गरिएको सिटी सफारी ७ थान (अन्दाजी मूल्य १७ लाख ५० हजार), ब्याट्री २० थान (अन्दाजी मूल्य ४ लाख) र चार्जिङ कन्ट्रोलर एक थान (अन्दाजी मूल्य ५ हजार) गरी २१ लाख ५५ हजार मूल्यबराबरको सामानहरु बरामद गरिएको सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
पक्राउ पर्नेहरुमा मेचीनगर ७ गैरीगाउँका २२ वर्षीय अभिषेक चौधरी भन्ने रूपककुमार सरदार, बिर्तामोड ७ मियाँबारीका ३१ वर्षीय मोहमद सलिम, मेचीनगर १० ताराबारीका धाइजन ढाँट ३० वर्षीय अभिशेक उराव रहेका छन् ।
त्यस्तै चोरिएका ब्याट्रीहरु खरिद गर्ने बिर्तामोड ५ का ४३ वर्षीय नसिम अख्तर, भारत बिहार राज्य किसनगन्ज घर भएका अर्जुनधारा ६ मा कोठा भाडा बस्ने २० वर्षीय एमडी जिगर आलम, अर्जुनधारा ८ बस्ने ३२ वर्षीय संजय चौधरी, मेचीनगर ७ इँटाभट्टा बस्ने २० वर्षीय डिकेश राजवंशी रहेका छन् ।
यसैगरी, भारत पश्चिम बंगाल पानीटंकी घर भई मेचीनगर १४ चारआली बस्ने ३२ वर्षीय पान बर्मु, भारत पश्चिम बंगाल बेलङ्गा थाना घर भई मेचीनगर १४ चारआली बस्ने ३३ वर्षीय मोहम्मद साबिर मुल्ला र भारत पश्चिम बंगाल बरमपुर थाना घर भई मेचीनगर १४ चारआली बस्ने ४७ वर्षीय आख्तरुल शेख रहेका छन् ।