झापा । साहित्यको माध्यमबाट असार १५ लाई सधैँ बचाइराख्ने उद्देश्यले स्रष्टा एकता मञ्च प्रदेश नम्बर १ ले आइतबार वृहत साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले बरिष्ठ साहित्यकार तेजराज खतिवडाको निवास परिसरमा आयोजना गरेको कार्यक्रममा नेपाललाई कृषि प्रधान मुलक भनिए पनि अहिले कृषि तथा कृषिजन्य वस्तुमा नेपाल परनिर्भर बनेको भन्दैं स्रष्टाहरुले चिन्ता व्यक्त गरेका गरेका थिए ।

मञ्चका संयोजक एवम् कार्यक्रमका सभापति बरिष्ठ साहित्यकार तेजराज खतिवडाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । केही वर्ष अघिदेखि सरकारले हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालेको भए पनि यतिखेर धान फल्ने सबै खेत प्लटिङमा रुपान्तरण भएकोमा सहभागी स्रष्टाहरुले दुःखेसो व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि कथाकार विनोद खनालले असार १५ को महत्वका बारेमा प्रकाश पार्नुभएको थियो भने कलाकार मातृका संग्रौलाले सहनाई बजाएर असारे भाकाको गीत प्रस्तुत गर्नुभयो । साहित्यकार हरिप्रसाद रिमालले कविता बाचन गर्नुभयो भने स्रष्टा गंगा ओडारीले असार महिनामा रोपाइँका बखत गाइने गीत प्रस्तुत गर्नुभयो ।

स्रष्टा परशुराम तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार कृष्ण सुमार्गी, पत्रकार लक्ष्मी उप्रेतीलगायतले आआफ्नो विचार व्यक्त गर्नुभयो । अब हरेक वर्ष असार १५ मा मञ्चले विभिन्न ठाउँमा साहित्यका माध्यमबाट कृषि प्रधान देश र असार १५ लाई बचाई राख्न विविध कार्यक्रम गर्ने संयोजक खतिवडाले जानकारी दिनुभयो ।