झापा । लागूऔषध ओसारपसार गर्नका लागि काठमाडौँदेखि काँकडभिट्टा धाउने कारोबारीहरुको संख्या बढ्दै गएको छ ।

 

पानीटंकीबाट लागूऔषध किनेर काठमाण्डौलगायत देशका विभिन्न शहरहरुमा यहाँका कारोबारीहरुले आपूर्ति गर्दै आएका छन् भने काठमाण्डौंका कारोबारीहरु आफैँ पनि लागूऔषधको कारोबार गर्न काँकडभिट्टा आउने गरेका छन् ।

 

हिजो दिउँसो १ः३० बजे लागूऔषध ब्युरो कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर ६ मेचीडाँडामा भारतबाट मेची खोलाको बाटोहुँदै पैदल नेपालतर्फ आउँदै गरेका काठमाण्डौ शंखरापुर नगरपालिका ८ बस्ने ३२ वर्षीय रोशन कार्कीलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

 

शंका लागेर चेकजाँच गर्ने क्रममा उनले लगाएको बक्स पेन्टको दाहिनेपट्टिको गोजीमा सेतो रङ्गको प्लाष्टिकको डल्लोभित्र प्लाष्टिकसहित ५३.८०० मिलिग्राम र प्लाष्टिकबाहेक ४८ ग्राम ६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । कार्कीले प्रयोग गर्ने आइफोन १६ प्रोम्याक्स र ८ हजार नगदसमेत बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

 

पूर्वीनाका काँकडभिट्टा लागूऔषध ओसारपसारको लागि देशकै मुख्य ट्रान्जिट प्वाइन्ट बनेको छ । त्योसँगै झापाको भद्रपुर नाका, झापा गाउँपालिकाको लसुना नाका, गौरीगञ्ज नाका पनि लागूऔषध ओसारपसारका लागि सहज मानिन्छ ।