झापा । नेपाल प्रहरीको ब्युरोमा कार्यरत प्रहरी कर्मचारी भएको धम्क्याउँदै लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको छ। उनीहरुको साथबाट ब्राउन सुगरसमेत बरामद भएको छ ।
पक्राउ पर्नेहरुमा मेचीनगर ६ साठीविगाह बस्ने ३३ वर्षीय प्रल्हाद कार्की र मेचीनगर ६ पालियाखोला बस्ने २३ वर्षीय विशाल बाँस्कोटा रहेका छन् । उनीहरुलाई मेचीनगर ६ साठीविगाहबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूले नेपाल प्रहरीको ब्युरोबाट आएको भन्दै सर्वसाधारणलाई डरत्रास देखाई नगद तथा विभिन्न सामान लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले विशेष अभियान सञ्चालन गरी उनीहरूलाई सोमबार साँझ साढे ५ बजेतिर पक्राउ गरेको हो ।
हिरासतमा राख्ने क्रममा उनीहरूको साथबाट प्लाष्टिकसहित एक ग्राम ९५० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि ठगी तथा लुटपाटसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।