विनोद भण्डारी,
विराटनगर- प्रदेश १ को अन्नको भण्डार मोरङ, सुनसरी र झापाको खेतीयोग्य जग्गा प्लटिङ र इँटाभट्टाका कारण हरेक वर्ष घटदै गएको छ । घडेरी र इँटाभट्टाकै कारण दशकयता यी तीन जिल्लामा झन्डै ४० हजार हेक्टर जमिन घटेको छ ।
मोरङ, सुनसरी र झापामा ७१ वटा इँटा उद्योग छन् । प्रत्येक उद्योगले कम्तीमा १५ बिघा जमिन ओगटेका छन् । कोसी इँटा उत्पादक संघका अध्यक्ष महेन्द्र साहले भने, ‘इँटाभट्टाले मात्र कम्तीमा १ हजार ६५ बिघा खेतीयोग्य जमिन ओगटेका छन् ।’
प्रदेशका १४ जिल्लामा यस वर्ष ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा धान खेती हुने प्रदेश कृषि विकास निर्देशनालयको तथ्यांक छ । सबैभन्दा बढी झापामा ८७ हजार ५ सय, मोरङमा ८३ हजार ३ सय र सुनसरीमा ५५ हजार हेक्टरमा धान खेती हुनेछ ।
पछिल्लो समय झापामा ८ हजार, मोरङमा १५ हजार र सुनसरीमा १७ हजार हेक्टर खेतीयोग्य जमिन घटेको पाइएको छ । तत्कालीन झापाका जिल्ला कृषि कार्यालय प्रमुख तथा हालका कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रका निर्देशक राजेन्द्र उप्रेतीका अनुसार दशकअघि झापामा ९५ हजार हेक्टरमा धान खेती हुन्थ्यो । कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार हाल त्यहाँ ८७ हजार ५ सय हेक्टरमा मात्र धान खेती हुने गरेको छ ।
मोरङमा दशकअघिसम्म ९८ हजार हेक्टरमा धान खेती हुने गरेकामा यस वर्ष ८३ हजार ३ सय हेक्टरमा मात्र धान खेती हुने निर्देशनालयको तथ्यांक छ । त्यसैताका सुनसरीमा ७२ हजार हेक्टरमा धान खेती हुने गरेकामा यस बेला ५५ हजार हेक्टरमा मात्र धान खेती हुँदै आएको छ । सुनसरीमा कोसीको बाढीले सयौं बिघा जमिन बगरमा परिणत भएका कारण पनि धानखेत घटेको सरोकारवालाको भनाइ छ ।
दशकअघि सप्तरी र सिरहासहित पूर्वाञ्चलमा ५ लाख ४७ हजार हेक्टरमा धान खेती हुने गरेकामा पछिल्लो समय ४ लाख २४ हजार ७ सय ५६ हेक्टरमा बर्खे धान रोपाइँ हुने गरेको तत्कालीन क्षेत्रीय कृषि निर्देशनालयको तथ्यांक थियो ।
यसलाई आधार मान्ने हो भने पूर्वमा एक दशकको अवधिमा १ लाख २२ हजार हेक्टर धानखेत घटेको छ । खेती घटेसँगै धान उत्पादन पनि हवात्तै घटेको छ । दशकसम्म पूर्वमा हरेक वर्ष सरदर १८ लाख टन धान उत्पादन हुने गरेकामा पछिल्लो समय सरदर १३ लाख टन मात्र उत्पादन हुने गरेको क्षेत्रीय कृषिको तथ्यांक थियो ।
पूर्वी तराईका जिल्लाका हरेक सदरमुकाम, नगरपालिका र सहरोन्मुख गाविसमा विगतमा धान खेती हुने जमिनमा कतै महल ठडिएका छन्, कतै प्लटिङ गरेर जमिन बाँझै छाडिएको छ । यसकै कारण धान खेत घटेको उप्रेतीको भनाइ छ ।
पहिलो मधेस आन्दोलनपछि मोरङमा धान खेती घटदै गएको वरिष्ठ कृषि अधिकृत उप्रेतीको बुझाइ छ । विराटनगर महानगरपालिका, टंकीसिनबारी, हात्तीमुढा, सुन्दरपुर, इन्द्रपुर, दुलारी, बेलबारी, केराबारी, लेटाङ, डाँगीहाट, पथरी, उर्लाबारी, मधुमल्ला, राजघाट, इटहरा, रंगेली, बयरवन, केरौन, शनिश्चरे, सिजुवा, धनीवनी गाविसको राजमार्ग र सहायकमार्ग आसपासका प्रायः सबै उर्वर जमिन प्लटिङ गरिएको छ ।
झापाको दमकदेखि मेची नगरपालिकासम्मको महेन्द्र राजमार्ग, बिर्तामोडदेखि भद्रपुर, बिर्तामोडदेखि शनिश्चरे, चारआलीदेखि बुधबारेलगायत सबै मार्ग आसपासको खेतीयोग्य जमिन प्लटिङ गरिँदा धान खेत घटेको हो ।
सुनसरीको इटहरी, खनार, झुम्का र तरहराको राजमार्ग र सहायक मार्गले छोएको स्थानको धान खेत मासिएको छ । उदयपुरमा १ हजार ७ सय हेक्टर जमिन घटेको छ ।
पहाडी जिल्लामा पनि जमिन प्लटिङ गर्ने क्रम बढेपछि खेतीयोग्य जमिन घटन सुरु भएको छ । तत्कालीन निर्देशनालयको तथ्यांकअनुसार इलाममा ६ हजार, संखुवासभामा ३ हजार ३ सय, ताप्लेजुङमा २ हजार, पाँचथरमा ३ हजार, धनकुटामा २ हजार, तेह्रथुममा २ सय, भोजपुरमा ६ सय ४२ हेक्टर, संखुवासभामा २ हजार ७ सय र ओखलढुंगामा २ हजार ४३ हेक्टर धान खेत घटेको पाइएको छ ।
१७ प्रतिशत रोपाइँ
प्रदेश १ मा असार १५ सम्ममा १७ दशमलव ४१ प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयको तथ्यांक छ । यो प्रदेशका १४ जिल्लामा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । निर्देशनालयका अनुसार शनिबारसम्म यो प्रदेशमा ५९ हजार ३ सय ५२ हेक्टरमा धान रोपिएको छ ।
निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत प्रकाश डाँगीका अनुसार ताप्लेजुङको ८ हजार ७ सय ३६ हेक्टरमध्ये २ सय ६२ हेक्टर, संखुवासभाको १३ हजार ८ सय ५१ मध्ये १ हजार ३ सय ८५ हेक्टर, सोलुखुम्बुको १ हजार ५ सय २५ मध्ये ३ सय ३५ हेक्टर, पाँचथरको ९ हजार २ सय ३ मध्ये ७ सय ३६ हेक्टर, इलामको १४ हजार ८ सय १५ मध्य ३ हजार १ सय, भोजपुरको १८ हजार १ सयमध्ये ९ हजार ९ सय ५० हेक्टर, तेह्रथुमको १० हजार २ सयमध्ये ७ सय १२ हेक्टर, धनकुटाको करिब ८ हजारमध्ये २३५ हेक्टरमा रोपाइँ भएको छ ।
त्यसैगरी उदयपुरको १३ हजार ३ सय ८० मध्ये ९ सय ३६ हेक्टर, ओखलढुंगाको ४ हजार ५ सयमध्ये २ सय २० हेक्टर, खोटाङको करिब १२ हजार ९ मध्ये ९ सय २ हेक्टर, झपाको ८७ हजार ५ सयमध्ये १९ हजार २ सय ५० हेक्टर, मोरङको ८३ हजार ३ सयमध्ये १४ हजार १ सय ६१ हेक्टर र सुनसरीको ५५ हजारमध्ये ७ हजार १ सय ५० हेक्टरमा रोपाइँ भएको छ ।
वर्षा नहुँदा र पानीको मुहान सुक्खा भएकाले पहाडी क्षेत्रमा असारको दोस्रो सातासम्ममा धान रोपाइँ हुन नसकेको हो । पहाडका माथिल्लो भेगमा यस समय आधाभन्दा बढी धान रोपाइँ भइसक्नुपर्ने हो । डाँगीले भने पहाडको तल्लो भेगमा असार मसान्तसम्ममा र तराईमा साउन अन्तिमसम्म रोपिएको धान सोह्रै आना फल्छ । तराईका जिल्लामा पनि पानी नपरे पनि किसानले पम्पसेट चलाएर उक्त प्रतिशत धान रोपाइँ गरेका हुन् । आजको कान्तिपुरमा खबर छ ।