झापा । झापाको बुद्धशान्ति गाउँपालिकास्थित गर्मी छल्ने मुख्य गन्तव्य रहेको गौडामा पौडी खेल्न गएका ७ जनालाई बाढी आएपछि प्रहरीले उद्दार गरेको छ ।

 

आइतबार साँझ ६ः५० बजे बुद्धशान्ति ७ गौडास्थित गौडा खोलामा पौडी खेल्न गएका ७ जना वर्षाका कारण खोलामा बाढी आएपछि तर्न नसकेपछि फँसेका थिए । उनीहरुलाई सशस्त्र प्रहरीको सहयोगमा उद्दार गरिएको हो ।

 

अस्थायी प्रहरी चौकी मंगलबारेबाट सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईमा जानकारी आएपछि सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र ठाकुरको कमाण्डमा ७ जनाको टोली विपद् उद्दारका सामानसहित खटिएको थियो ।

 

सशस्त्र प्रहरीको टोलीले भद्रपुर ५ का २४ वर्षीय महेश हलुवाई, रोहित साह, २३ वर्षीय भुपाल ठाकुर, २३ वर्षीय पिन्टू वर्मन, बिर्तामोड ५ की २८ की एजिना न्यौपाने, २३ वर्षीया अनिषा न्यौपाने र बिर्तामोड ९ का ३६ वर्षीय राजु पाठकलाई उद्दार गरेको हो ।

 

त्यस स्थानमा इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायव निरीक्षक चन्द्रबहादुर राउतको कमाण्डमा ९ जनाको टोली पनि खटिएको थियो ।