झापा । कन्काई नगरपालिकामा मोटरसाइकलमा लिफ्‌ट दिएर महिलाको गहना लुट्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पनेमा पाँचथर फिदिम ४ घर भई हाल कन्काई ४ कोटीहोम बस्दै आएका २२ वर्षीय जीवन तामाङ रहेका छन् ।

 

उनले कन्काई ३ टप्पु चौक बस्ने ५० वर्षीया विमला लिम्बू भुजेललाई घर पुर्‍याइदिन्छु भनी मे. ४ प ८८३ नम्बरको मोटरसाइकलमा चढाएका थिए । उनले कन्काई १ र २ को सिमाना बाघे खोलाको पुलमा भुजेलको कानमा रहेको सुनको मुन्द्रा लुटेका थिए । महिलाले तत्काल होहल्ला गरेपछि स्थानीयहरु भेला भएका थिए ।

 

स्थानीयहरुको कुटाइबाट तामाङ घाइते भएका छन् । उनलाई कन्काई नगर अस्पताल सुरुङ्गा लगिएको थियो । थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा त्यहाँबाट डिस्चार्ज गरी इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

सुनको मुन्द्रा २ थान, ओपो मोबाईल १ थान र ३ हजार रुपैयाँसहित मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको र महिलालाई आफन्तको जिम्मा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।