झापा । भारतको सिलिगुडी नजिक बागडोगरा क्षेत्रमा दुर्घटनामा परि घाइते भएका बिर्तामोडका एक युवाको मृत्यु भएको छ । तीव्र गतिको कार आज साँझ ५ बजे अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।

 

बाग्मती प्रदेश ०१-०३२ च १६८० नम्बरको कार दुर्घटना हुँदा झापा बिर्तामोड-५ का २३ वर्षीय अमित चौधरी गम्भीर घाइते भएका थिए । उनी बिर्तामोडका अलैंची व्यवसायी भरत चौधरीका छोरा हुन् ।

 

घाइते चौधरीको बागडोगरस्थित ग्यालेक्सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । आज दिउँसो सीमावर्ती सहर काँकरभिट्टाबाट करिब २३ किलोमिटर टाढा बागडोगरामा कार दुर्घटना भएको थियो । दुर्घटनापछि कार झन्डै दुई टुक्रा भएको छ ।

 

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा घाइते चालकलाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको थियो ।