झापा । ठाउँ-ठाउँमा पहिरो गएपछि मेची राजमार्गमा यातायात अवरुद्ध भएको छ । रोङ गाउँपालिकाको डुमी चोक र राजदुवाली क्षेत्रमा यातायात अवरूद्ध बनेको हो ।

 

आज बिहान ५ः३० बजे डुमी चोकस्थित मेची राजमार्गमा वर्षाका कारण सडकको भित्ताको ढिस्को खस्नुका साथै रुख झरेर सवारी साधन आवतजावत बन्द भएको हो । प्रहरी चौकी किटेनीबाट प्रहरी टोली खटिएको र बाटो खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

 

त्यस्तै गएराति ११ः४० बजे इलाम नगरपालिका ९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण लेदोसहित पहिरो झरेपछि सवारी साधन आवतजावत अवरुद्ध भएको छ । उक्त सडकखण्ड पूर्णरुपमा बन्द भएको प्रहरीले जनाएको छ ।