धनकुटा । धनकुटा प्रहारीले आज एकै दिन ७ सय ९५ किलोग्राम गाँजा बरामद गर्दै दुईवटा सवारी साधनसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रकबाट साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा आज बिहान ७७५ किलोग्राम गाँजा बरामद गरिएको हो। ट्रकमा २५ वटा प्याकेटमा गाँजा लोड गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
उक्त ट्रकका चालक धनकुटाको पाख्रीबास नगरपालिका १ स्थायी घर भई हाल इटहरी १ आपगाछी बस्दै आएका परीक्षण कुँवरलाई प्रहरीले पक्राउ गरेको छ।
त्यसैगरी, साँगुरीगढी गाउँपालिका ७ लुम्फाजुङबाट बा ६४ प १४३५ नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेको २० किलोग्राम गाँजासहित चालक विशेष राईलाई पनि प्रहरीले पक्राउ गरेको छ।