लक्ष्मीपुर । झापाको अर्जुनधाराको विरिङ खोलामा बाढीको जोखिम बढेसँगै नगरपालिकाको अगुवाईमा जोखिम ब्यवस्थापन कार्य अघि बढाइएको छ ।

 

अर्जुनधारा नगरपालिका ४ रातेखाल र अर्जुनधारा ५ पानीकल जोड्ने कज्वे बाढीले भत्काएर बिरिङ खोलाले कटान शुरु गरेपछि नगरपालिकाको अगुवाई तथा सरोकारवालाहरुको श्रमदानमा आज (बुधबार) जोखिम व्यवस्थापन कार्यलाई अघि बढाइएको हो ।

 

श्रमदानमा अरिदमन गण चारआलीका सेनानी इरज खड्काको नेतृत्वमा ३५ जना सेना, भीष्म सापकोटाको नेतृत्वमा सशस्त्र प्रहरी बल बेश क्याम शनिश्चरे र खुदुनाबारीबाट २१ जनाको टोली, नगर प्रहरी, स्थानीय र आरआइटी समूहको सहभागिता रहेकोे थियो ।

 

उक्त स्थानमा बिरिङ खोलाले कटान शुरु गरेसँगै स्थानीय त्रसित भएका थिए । सो क्षेत्रमा कटान भएको खण्डमा करिब ५ सय घरपरिवार साथै ५ सय बिगाहाभन्दा बढी जग्गा जोखिममा पर्ने अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले बताए ।

 

सो स्थानमा बिरिङ खोलाको बाढीले बहाव परिवर्तन गरेर कटान शुरु गरेको थियो । नगरपालिकाको अगुवाईमा स्काभेटरको सहायताले खोलालाई बीच भागमा फर्काएर तटबन्धन गरिने गोम्देनले जानकारी दिए ।

 

नगर प्रमुख गोम्देनका अनुसार नगरपालिकाले ५० वटा र जनताको तटबन्धनबाट ५० वटा तारजाली गरेर एक सय तारजालीले तटबन्धन गरिने अभियान दुई दिन सरोकारवालाहरुको श्रमदानबाट गरिने नगर प्रमुख गोम्देनले जानकारी दिए ।