झापा । निरन्तरको वर्षासँगै आएको बाढीपहिरोले मेची राजमार्ग बन्द हुँदा इलामसहित मेचीका पहाडी जिल्लामा सडक सञ्जाल टुटेको छ । झापासँग जोड्ने वैकल्पिक मार्गहरु पनि बन्द भएको छ ।

 

तराईको झापादेखि पहाडी जिल्ला इलाम र पाँचथरहुँदै हिमाली जिल्ला ताप्लेजुङसम्म जोडेको मेची राजमार्गअन्तर्गत माईखोलास्थित राजदुवाली सडक खण्डमा सवारी र ढुवानी साधन गुड्नै नसक्ने गरी भासिएपछि एकसाता यता ठप्प प्रायः छ ।

 

मर्मत गरेर आइतबारदेखि दुईचक्के साधन मात्रै आउजाउ गराउन पटक पटक कोसिस गरिए पनि सडक भासिने समस्या नरोकिँदा मोटर साइकलसमेत सञ्चालन हुन सकिरहेका छैनन् । वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोलाई–तिल्केनी सडक पनि बाढीकै कारण अवरुद्व भएको छ ।

 

इलाम-झापा जोड्ने अर्को सडक केचना–कञ्चनजङ्गा फास्ट ट्र्याक अन्तर्गत पुवा खोलाको डाइभर्सनमा पनि बाढीले क्षति पुर्‍याएको छ । डाइभर्सन माथिबाट धमिलो पानी वग्नुका साथै वारिपारिको जगमा क्षति पुग्ने समस्या दोहोरिइरहँदा यो सडक पनि यात्राका लागि सुरक्षित नरहेको चालक र यात्रुहरु बताँउछन् ।

 

झापाबाट केही दिनअघि नै खाद्यान्नसहितका उपभोग्य वस्तु लिएर इलाम हुँदै पाँचथर र ताप्लेजुङका लागि छुटेका ठूलो परिमाणका साधन माइखोलापारि रोकिएका छन् ।