झापा । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीद्वारा बलात्कार प्रकरणकी पीडित नाबालिकाले न्यायका लागि सार्वजनिक अपिल गरेकी छन् ।

 

आफूले न्याय नपाएको भन्दै १५ वर्षीया अनारमनी २१ (सांकेतिक नाम) ले एक सार्वजनिक अपिल जारी गरेकी हुन् । उनले अभियुक्तलाई सजाय गरी आफू पीडितलाई न्याय दिलाइदिन सम्पूर्णलाई अनुरोध गरेकी छन् ।

 

जबरजस्ती करणीको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीले यसअघि सफाई पाएका थिए । झापा जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले शिवाकोटीविरुद्धको मुद्दामा दाबी नपुग्ने फैसला सुनाएको थियो ।

 

नेपाल सरकार वादी रहेको शिवाकोटीविरुद्धको सो मुद्दामा निर्दोष ठहर गरेको हो । शिवाकोटीविरुद्ध २०८१ पुस १९ गते जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । झापा जिल्ला अदालतले थुनछेक प्रयोजनका लागि यसअघि गरेको आदेशमा थुनामा पठाउने आदेश गरेको थियो ।

 

शिवाकोटीले सो आदेशविरुद्ध गरेको अपिलमा उच्च अदालत इलाम इजलासले धरौटीमा छोड्न आदेश दिएको थियो । गतवर्षको असार २२ गते झापा जिल्ला अदालतले अन्तिम फैसला सुनाउँदै सफाई दिएको हो ।

 

नाबालिकालाई बलात्कार गरेको आरोपबाट निर्दोष ठहर भएका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख शिवाकोटीको मुद्दाप्रति केही दिनअघि गृहमन्त्री सुधन गुरुङले चासो राखेका थिए । तर, प्रहरी प्रशासनको साथ नपाएपछि आम जनसमुदायलाई गुहार्नु परिरहेको नाबालिकाका काकाले बताएका छन् ।

 

आरोपित शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । हाल उनी अमेरिकामा छन् ।