झापा । बिर्तामोड नगरपालिका ५ स्थित सतानु पैनीमाथि बनेका सुकुम्बासीका तीनवटा घरमा आगलागी भएको छ ।
आज बिहान ४ः१० बजे बिर्तामोड नगरपालिका ५ पुरानो भद्रपुररोड छेउ सतानु पैनीमाथि बनेका गणेश पोख्रेल, तारा अर्याल र सुन्दर राजवंशीको काठको ३ वटा टाँडे घरमा आगलागी भएको हो ।
उक्त स्थानमा सुरक्षा बेश शनिश्चरेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सोभितबहादुर श्रेष्ठको कमाण्डमा ११ जना, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक लोकबहादुर दियालीको कमाण्डमा १० जना, श्री अरिदमन गण चारलागीबाट सेनानी किशोरकुमार खड्काको कमाण्डमा २५ जनाखटिएका थिए ।
यसैगरी, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको गरी तीनवटा दमकल र स्थानीय बासिन्दाको सहयोगमा बिहान ५ः४५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ ।
विद्युत सर्ट भएर सो आगलागी भएको आशंका गरिएको छ । सो आगलागीबाट अन्दाजी ६० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।