बिर्तामोड । झापाको बिर्तामोड र दुर्गापुरमा भएको दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । बिर्तामोडमा अटो र ट्रयाक्टर एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो भने चार जना घाइते भएका छन् ।
यसैगरी, कन्काई नगरपालिका ७ स्थित दुर्गापुर बजारमा पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको हो ।
आज बिहान ७ः३० बजे बिर्तामोड २ बाह्रकोटी गाउँस्थित चैतुबारी–राजगढ भित्री पक्की सडकखण्डमा भामटोलीबाट बिर्तासिटी अस्पतालतर्फ आउँदै गरेको मे १ ह ३८४२ नम्बरको अटोले बिपरीत दिशाबाट जाँदै गरेको मे १ त ७१५३ न।को ट्रयाक्टरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा अटोमा सवार झापा गाउँपालिका ४ भामटोली बस्ने ३५ वर्षीया सुखी बिबी, सोही ठाउँ बस्ने वर्ष ४५ की सलेहा बिबी, वर्ष २२ की मुस्केरा खातुन, वर्ष ४८ का हेलाल मियाँ र अटो चालक वर्ष ४५ का तयामुल हक घाइते भएका थिए ।
घाइतेहरुलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो । गम्भीर घाइते सुखी बिबीको उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, आज दिउँसो ४ बजे दुर्गापुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र. १-०१-०१ प ३९२९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी पैदलयात्री अर्जुनधारा ९ बस्ने ५० वर्षीया मिरादेवी गौतमलाई ठक्कर दिएको थियो । घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा साँझ ४ः५० बजे उनको मृत्यु भएको हो ।
मोटरसाइकल चालक ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका ३ बस्ने ३१ वर्षीय गोपाल रम्तेल सामान्य घाइते भएका छन् । अनुहारमा चोट लागेका रम्तेललाई सुरुङ्गास्थित स्थानीय मेडिकलमा उपचारपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।