ताप्लेजुङ । पाँचथर र ताप्लेजुङको सीमावर्ती उच्च पहाडी क्षेत्रमा पर्ने तिम्बुङ पोखरीमा तेस्रो अन्तर्राष्ट्रिय ट्रेल रन आयोजना हुने भएको छ । यस क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै जैविक तथा सांस्कृतिक विविधताको प्रचारप्रसार गर्ने उद्देश्यले भदौ २५ मा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
तिम्बुङ पोखरी पर्यटन प्रवर्द्धन समिति, कालीखोलाको आयोजनामा हुने प्रतियोगिता यस वर्ष २१ किलोमिटर दूरीमा सञ्चालन गर्ने तयारी गरिएको छ । समुद्री सतहदेखि ४ हजार ३५० मिटर उचाइमा रहेको तिम्बुङ पोखरीबाट सुरु हुने दौड ३ हजार ८ सय मिटर उचाइमा रहेको पाङदुवा पुछारहुँदै ४ हजार २ सय मिटर उचाइमा पुगेर सम्पन्न हुनेछ ।
प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका नेपाली धावकसँगै भारतको सिक्किम, पश्चिम बंगाल र पञ्जाबबाट समेत धावक सहभागी हुने आयोजक समितिका अध्यक्ष अमिर राईले बताए । उनका अनुसार उच्च पहाडी क्षेत्रमा आयोजना हुने यस प्रतियोगिताले तिम्बुङ क्षेत्रको पर्यटन र जैविक विविधतालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्नेछ ।
धावकको सुरक्षाका लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि १९ लाख २६ हजार रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको आयोजक तिम्वुङ पोखरी पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष अमिर राईले फिदिममा पत्रकार सम्मेलन जानकारी दिए ।
उनका अनुसार प्रतियोगिता पुरुष खुला, महिला खुला र स्थानीय गरी तीन विधामा सञ्चालन हुनेछ । पुरुष खुलातर्फ विजेताले ८३ हजार ५२५, दोस्रो हुनेले ६३ हजार ५२५ र तेस्रो हुनेले ४३ हजार ५२५ रुपैयाँ पुरस्कार पाउनेछन् ।
महिला खुलातर्फ प्रथम र दोस्रो हुनेले क्रमशः ८३ हजार ५२५ र ६३ हजार ५२५ रुपैयाँ पाउनेछन् । स्थानीयतर्फका विजेतालाई ३३ हजार ५२५ रुपैयाँप्रदान गरिनेछ ।
प्रतियोगितालाई सिदिङ्वा गाउँपालिका र पर्यटन कार्यालय काँकडभिट्टाले आर्थिक सहयोग गरेका छन् । ट्रेक ८५८६, समृद्ध पहाड, इको, युरोपियन युनियन र सारस बेभरेजले समेत सहयोग गरेको राईले बताए ।
प्रतियोगिताको मुख्य प्रवर्द्धक सिदिङ्वा गाउँपालिकाले उद्घाटनको पूर्वसन्ध्यामा तिम्बुङ पोखरी परिसरमै कार्यपालिका बैठक सञ्चालन गर्ने तयारी गरेको छ ।