फुङलिङ । उपाधिको दाबेदार मानिएको काठमाडौँको टोली चित्लाङ एफसीलाई पराजित गर्दै पाँचथरको फिदिम स्पोर्टिङ क्लब यहाँ जारी चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

भानुजन माविको मैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा फिदिमले टाइब्रेकरमा ४-३ गोलअन्तरले चित्लाङलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

 

फिदिमका लागि गोलरक्षक मिराक खजुम नायक बने । फिदिमको रक्षात्मक रणनीतिका कारण चित्लाङको करिब आधा दर्जनभन्दा बढी प्रहार खेर गएको थियो । यस्तै, फिदिमले पनि केही राम्रा अवसर सिर्जना गरेको थियो तर गोलरक्षक प्रिसो हाबी हुँदा स्कोर हुन सकेन ।

 

टाइब्रेकरमा फिदिमका निरोज लिङदेन, सुशन जवेगु, हिटेन सुहाङ र अनिष परियारको प्रहार गोलमा परिणत भएको थियो । चित्लाङका विदेशी गोलरक्षक प्रिसोले पाँचथरे खेलाडीको प्रहारलाई अन्दाज गर्न पनि सकेनन् ।

 

चित्लाङका लागि मिङ्सो लिम्बू, चेतन थारू र किरण सुनारको प्रहारमात्र गोलमा परिणत भएको थियो । दिपेश गुरूङको प्रहार फिदिमका गोलरक्षक मिराक खजुमले रोक्दा प्रिसोको प्रहार बाहिरिएको थियो । फिदिमका मिराक खजुम प्लेयर अफ दी म्याच बन्दै नगद ७ हजार पाउन सफल भए ।

 

साविक विजेता सर्लाहीको सल्हेश युवा क्लबले आइतबार काठमाडौँको सातदोबाटो एफसीसँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ । भदौ १९ गते हुने फाइनल खेल हुने गोल्डकपको च्याम्पियन टोलीले नगद ७ लाख २ हजार ८३ सहित ट्रफी पाउँदा उपविजेताले नगद ३ लाख ५२ हजार ८३ रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।