इलाम । एउटै दुर्घटनामा घाइते भएका इलाम नगरपालिका ८, तिल्केनीकी कविता श्रेष्ठ र उनकी करिब आठ वर्षीया छोरी सुस्मिता श्रेष्ठको आइतबार एउटै घाटमा अन्त्येष्टि गरिएको छ ।

 

भदौ २६ गते फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा भएको अटो दुर्घटनामा गम्भीर घाइते आमा–छोरीको उपचारका क्रममा मृत्यु भएको थियो । छोरी सुस्मिताको भदौ २६ गते राति र आमा कविताको भदौ २७ गते बिहान झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

माइतीघर हाङ्मासुली जाने क्रममा अटो दुर्घटनामा परेका आमा–छोरीको सामाजिक परम्पराअनुसार इलामको बज्रदेवीघाटमा एकैसाथ अन्त्येष्टि गरिएको हो । एउटै दुर्घटनामा घाइते भएका आमाछोरीलाई उपचारका क्रममा गुमाएपछि परिवारजन तथा आफन्त शोकमा डुबेका छन् ।

 

शुक्रबार साँझ करिब ५ बजे मंगलबारेबाट हाङ्मासुलीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००३ ह ६९६७ नम्बरको अटो पोखरी–कमेरे सडक खण्डमा अनियन्त्रित भएर सडकबाट करिब दुई मिटर तल खसेको थियो । दुर्घटना लगत्तै पेट्रोल लिकेज भएर अटोमा आगलागी भएको प्रहरीले जनाएको छ ।