झापा । झापाको मेचीनगरमा सामान्य विषयमा भएको विवाद कुटपिटमा परिणत भएपछि फरार रहेका तीन जनालाई घटना भएको १३ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा तीन जनालाई पक्राउ तथा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो।

 

प्रहरीका अनुसार गत भदौ १७ गते मेचीनगर १० स्थित नन्दा पेट्रोल पम्पमा काम गर्ने मजदुर मेचीनगर ९ निवासी ४३ वर्षीय धर्मप्रसाद ओलीलाई चार-पाँच जनाको समूहले सामान्य विषयमा विवाद गर्दै कुटपिट गरेको थियो। कुटपिटबाट घाइते ओलीलाई उपचारका लागि अस्पताल पठाइएको र घटनामा संलग्न समूह फरार भएको प्रहरीले जनाएको छ।

 

घटनापछि फरार व्यक्तिहरूको खोजी गर्ने क्रममा भदौ २९ गते प्रहरीले मोरङको कानेपोखरी ७ घर भई हाल मेचीनगर ९ स्थित मुनाल सेक्युरिटीमा काम गर्ने ३१ वर्षीय आशिष लिम्बूसहित दुई जनालाई पक्राउ गरेको हो।

 

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

यसैबीच, प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको मेलम्ची ४ घर भई हाल मेचीनगर ९ बस्ने पासाङ तेन्जिङ तामाङलाई समेत नियन्त्रणमा लिएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय झापाले कुटपिट घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जनाएको छ। प्रहरीले घटनाको कारण, संलग्नता र भूमिकाबारे थप अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।