दमक । झापाको दमकमा घरभित्र प्रवेश गरी सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ रवि घर भइ हाल दमक ५ मा डेरा गरी बस्ने १९ वर्षीय दीपक राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार दमक २ बस्ने ३३ वर्षीया मिनिषा तामाङको घरमा असोज २ गते साँझ करिब ७ बजे चोरी भएको थियो। घरमा कोही नभएको मौका छोपी घरभित्र प्रवेश गरी दराज फुटाएर एक थान सुनको सिक्री, दुई थान बच्चाको तीन तोलाको सुनको चुरा, दुई थान सुनको पिँजडा, एक थान सुनको तिलहरी तथा नगद २० हजार रुपैयाँ चोरी भएको थियो ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा रहेका सीसीटीभी फुटेजसमेतको आधारमा अनुसन्धान अघि बढाएको थियो। सोही अनुसन्धानका राई पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट नगद ७९ हजार रुपैयाँ, एक थान चाँदीको पाउजु, दुई थान सुनको पिँजडा र एक थान सुनको शिरबन्दी बरामद गरेको छ। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।