झापा । इलामको रोङ गाउँपालिकामा भएको ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक झापा मेचीनगर ५ नकलबन्दाका ४० वर्षीय अमित धिमाल रहेका छन् ।

 

मंगलबार साँझ ७ः३० बजे रोङ गाउँपालिका–५ देवनथापस्थित भित्री सडक खण्डमा झापातर्फ आउँदै गरेको प्र. १–०४–००१ त १२३६ नम्बरको दाउरा बोकेको ट्याक्टर आफैं अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो ।

 

दुर्घटनामा परेका धिमाललाई ट्रयाक्टरको अगाडिको भागले थिचिएको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

घटनाको खबर प्राप्त हुनासाथ इरौटार चौकी र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली पुगेर कानुनी प्रक्रिया पूरा गरी राति १ बजे मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।