बिर्तामोड । होटल व्यवसायलाई मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय झापाले पहल थालेको छ । आज इलाका प्रहरी कार्यालय अनारमनीमा होटल व्यवसायीसँग अन्तरक्रिया गर्दै प्रहरीले सेवामुखी होटल व्यवसायलाई मर्यादित बनाउन पहल थालेको हो ।

झापाको मुख्य बजारहरु विर्तामोड, काँकरभिट्टा, दमक र अन्य बजारमा यौनधन्दा चलाएको कारण होटल व्यवसाय मर्यादित बन्न नसकेको गुनासो बढेपछि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत होटल व्यवसायीलाई विकृति अन्त्य गर्न सूझाव दिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटल सेवाग्राहीमैत्री बनाउन आग्रह गरेका छन् । उनले विर्तामोड क्षेत्रमा होटल व्यवसाय गर्दै आएका व्यवसायीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै पाहुनालाई अप्ठ्यारो लाग्ने कुनै काम नगर्न निर्देशन दिएका छन् । होटल व्यवसाय सम्मानित व्यवसाय भएकाले मर्यादित बनाउनु पर्ने उनको जोड थियो ।

प्रहरी उपरीक्षक मैनालीले भने, ‘यौनजन्य गतिविधि गर्नेलाई अब कुनै पनि अवस्थामा कारबाही गरिनेछ । यौनधन्दाले आफ्नो ठाउँको बद्नाम गराइरहेको हुन्छ’, उनले भने, ‘तपाईको कामले बद्नाम भयो भने यस क्षेत्रको आर्थिक अवस्थामा समेत ह्रास ल्याउने छ । त्यसैले आफ्नो व्यवसायलाई मर्यादित, सभ्य बनाउनु होस् ।’

अन्तक्रियामा उनले नीति नियम र कानुन विपरित काम नगर्न आग्रह समेत गरेका छन् । यस्तै, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख मोहन थापाले होटलमा बस्ने जो कोहिको अभिलेख सुरक्षित राख्नु पर्ने बताएका छन् ।

उनले अपराधिक घटना हुन नदिन र होटलको सुरक्षाका लागि पनि अभिलेख अनिवार्य रहेको बताए । व्यवसायका नाममा अश्लिल गतिविधि नगर्न विर्तामोडका होटल व्यवसायीलाई सूझाव दिएका छन् । उनले कुनै पनि होटलमा यौनजन्य गतिविधि भए वा बालश्रम शोषण गरेमा व्यवसायीलाई कानुनी दायरामा ल्याइने जिकिर गरेका छन् । डिएसपी थापाले ग्राहकलाई होस गुमाउने गरी रक्सी र अस्वस्थ्यकर खाना नदिन भन्दै व्यवसायलाई मर्यादित बनाउन आग्रह गरे ।

विशेष गरी विर्तामोडको बसपार्क क्षेत्रका होटलमा यौनजन्य गतिविधि हुने गरेको छ । बसपार्ककै होटलका कारण झापाको मुख्य बजार विर्तामोड बद्नाम व्यहोर्दै आएको छ ।

बिर्तामोडका होटल व्यवसायी देवीभक्त श्रेष्ठले सबै होटललाई एउटै तहमा राख्न नहुने प्रतिक्रिया दिएका छन् । उनले धन्दा गर्ने र पर्यटकीय होटललाई एउटै आँखाले हेरेका कारण राम्रा होटलको समेत बद्नाम भइरहेको बताए । उनले होटलको स्तर छुट्टाउनुपर्ने माग गरेका छन् । यस्तै, होटल व्यवसायी संघ झापाका अध्यक्ष भोला उप्रेतीले हिजोका दिनमा जे-जे भए पनि अबका दिनमा सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनलाई यौनधन्दाका संरक्षक भन्ने आरोप पनि लाग्ने गरेको छ । उप्रेतीले जिल्लाको होटल व्यवसायलाई मर्यादिन बनाउन सबै होटल व्यवसायी सचेत भएको बताएका छन् ।

यसैबीच, इलाका प्रहरी कार्यालय अनारमनीमा प्रहरी सेवा बालमैत्री र मानव अधिकारमैत्री बनाउनका लागि निर्माण गरिएका दुई संरचनाको उद्घाटन समेत गरिएको छ । चिल्ड्रन कर्नर र प्रहरी अनुसन्धानात्मक अन्तरवार्ता कक्षको प्रहरी उपरीक्षक दिनेश राज मैनालीले उद्घाटन गरेका छन् । चिल्ड्रेन कर्नर ४ लाख र अन्तरवार्ता कक्ष ७ लाखमा निर्माण गरिएको हो ।